Posts

Showing posts from April, 2020

भनन्

Image
साच्चै तिमीलाई म राम्री लाग्छ कि मन राख्नलाई राम्री छौं भन्छौं परी झैँ कल्पनामा आउँछु कि अरुलाई झैँ गिज्याउनलाई भन्छौं ३२ लक्षण युक्त त कहाँ छु र म मनबाटै वरण गर्छौ कि फुरुंग पार्न मुनामदनका शब्द पैँचो माग्छौं न जिउडाल मिलेको न रुपमा वरदान पाएको गहुगोरो रंगमै सुन्दर देखिन्छु कि लाली र पाउडरमा पोत्तिन नपुगेको दन्त लहर देखाएर हाँस्दा राम्री लाग्छु कि पुक्क परेर रिसाउदा फकाउन आनन्द लागेर साच्चै मोटी लागेर हो कि माया लागेर मोटु भनी बोलाउछौं थोरै थोरै नक्कल पार्दा कि गुन्यु चोलिमा राम्री देखिन्छु घाँसको भारिमा कि अफिसको जिम्मेवारीमा राम्री देखिन्छु म रिसाउदिन आज साच्चै भनन् म चुलबुल चुलबुल बोलिरहँदा कि मन्द मन्द लजाइरहँदा राम्री देखिन्छु झुट्टो तारिफ नगर ल आज साच्चै भन न म तिम्रो नजरमा कस्ती देखिन्छु ?

तिमी र म मा कुनै समानता छैन

Image
तिम्रो लागि लकडाउन नयाँ होला महामारी सुन्दा भयभित हुन्छौं होला घुम्न जान नपाउँदा नयाँ साल पनि अनौठो लाग्यो होला स्पा र ब्युटी पार्लर चाहार्न नपाउदा आफु कुरुप भएझै लाग्यो होला तर, अहँ म र तिमी मा कुनै समानता छैन साहुको क्रण समयमा तिर्न नसकेर जलिल हुँदा कुनै दिन पनि मलाई लकडाउन भन्दा कम लाग्दैन तिमी नयाँ पहिरनको कुरा गर्छौ खान नपाएर भोकमारीले बालबच्चा छटपटाइरहँदा मलाई हरेक पल महामारी झै लाग्छ नयाँ ठाँउको कुरा नगर तिमी झुकिएर कसैको विवाहमा पुगे भनेपनि स्वर्ग पुगे झै लाग्छ सृंगार केहि चाहिदैन मलाई आमा बाबाका मुहारमा मुस्कान देखे भनेपनि विश्वकै सुन्दरी भए झैँ लाग्छ तिम्रा धनका अगाडि कुनै औकातका महलहरु नहोलान् मेरा तर, आफ्नै सानो झुपडीलाई हावा र पानीबाट जोगाउन सक्दा संसारकै ताकतवर झैँ लाग्छ हरेक दिन भोकमारी र अनिकालसँग संर्घष गर्ने म यो एक क्षणको महामारी र लकडाउन कथाका केवल एक पात्र झै लाग्छ अनि तिमीहरुको जीवन त मेरा लागि केवल कल्पना मात्र झैँ लाग्छ त्यसैले त तिमी र म मा कुनै समानता छैन ...

जिम्मेवारी कि सपना ?

Image
जिम्मेवारी कि सपना ? मन भरि कयौं सपना अनि काँध भरि जिम्मेवारीको बोझ सायद सहज थिएन होला दुईवटा मध्य रोज्न तर समय अनि परिस्थितिको खेल मन भरिका सपनाले मेटाउन सकेनन् परिवारका भोक न त वर्खाका झरि र चैतका हुरिलाई दिन सके ओत अनि विवश ऊ परिवारका खातिर त्याग्नै पर्यो यी सब थोक अहिले उसलाई परिवारले कमाउन नसक्ने नाकाराको संग्या गर्दा कति भकानिन्छन मन एकान्तमा, परिवारका खातिर गरेका बलिदानहरु सम्झदा छर्लगं हुन्छन रात रमेको नाटक गर्न सिकाइ सकेछ जिन्दगिका रंगमञ्चहरुले हुन त किन नसिकोस् आफ्नो सपना छोरा छोरीका आँखामा जो देख्छ र त रातदिन सपना पुरा हुन्छन् कि भनेर अझै पनि आफैलाई बिर्सेर खटिरहन्छ ऊ

शहर भन्दा गाँउ नै राम्रो

Image
शहर भन्दा गाँउ नै राम्रो जहाँ घरहरु नम्बरले होइन  बाबा आमाका नामले चिनिन्छन जहाँ सम्बन्धहरु अग्ला महल र बैंक व्यालेन्सले होइन  भावना र जस्बातले जोडिन्छिन जहाँ साथीभाईहरु बार र पबमा होइन साइला दाईका चिया पसलमा भेटिन्छन् जहाँ मनका बिदम्बनाहरु रक्सिका गिलासमा होइन वन पात गर्दा एकअर्कासँग पोखिन्छन् जहाँ खुशीहरु महंगा होटलमा पार्टी गरेर होइन एकसाथ कदममा कदम मिलाएर साटिन्छन् त्यसैले त भन्छु भौतिक सम्पतिमा लोभिएको  शहर भन्दा मनको सुखमा रमेको गाँउघर नै राम्रो ।।

मन छ

बर्षैदेखि नफेरिएका मेरी आमाको फाँटेको धोती फेरिदन मन छ कयौं सालदेखि मेरा बाबाका खुट्टाले स्पर्श गर्न नपाएका चप्पल किनिदिन मन छ खेलौ खेलमा डाक्टर बन्ने मेरा भाईका सपनालाई उडान भरिदिन मन छ हावा र पानीबाट आफुलाई जोगाउन संघर्ष गरिरहेको मेरो घरको छानोलाई जस्ता पाताको ओतदिन मन छ कमेरो माटोले सज्जिन नसकेका मेरा बेरंग भित्ताहरुमा सप्तरंग भरिदिन मन छ गुन्द्रुक र ढिडो भन्दा अरु स्वाद महशुस गर्न नपाएका मेरा जिब्रालाई ८४ व्यञ्जनको अनुभुति गराईदिन मन छ मेरा आमा बुबाका आँखामा बिजेका हरेक सपनालाई एउटा सार्थक रुप दिन मन छ कसैका इच्छा र आकांक्षाहरुले आत्म हत्या गर्नु नपर्ने एउटा संसार बनाउन मन छ परिस्थिति र बाध्यतामा अल्झिएको मेरो मन भित्रको पिडालाई पोको पारेर टाँढा टाँढा  फालिदिन मन छ र, जीन्दगीभरि बाटो नमोड्ने गोरेटाहरुसंग साइनो गास्न मन छ

जीवनका खुडकिलाहरु

Image
जीवनका खुडकिलाहरु कहाँ सहज छन् र न त फड्को मार्न मिल्ने न त घिस्रेर हिड्न मिल्ने कहिले लड्छु, फेरि उठ्ने कोशिस गर्छु केहि कदम अगाडि चाल्छु हावाको वेग जस्तै कति बेला पछाडि धकेलिन्छु हिडेर थाक्छु कहिले अनि हार मान्छ जिन्दगीले फेरि सुस्केरा हाल्दै, कहिले हिड्छु कहिले लडखडाउछु अनि कहिले उक्लिन्छु कहिले गरल्यामगुरलुम खस्छु जीवनका खुडकिलामा तब पनि आशा छ हरेक खुडकिलालाई नबिराई टेक्नेछु र पार गर्नेछु किनकी हरेक खुडकिला विशेष छन् ...