तिमी र म मा कुनै समानता छैन

तिम्रो लागि लकडाउन नयाँ होला
महामारी सुन्दा भयभित हुन्छौं होला
घुम्न जान नपाउँदा नयाँ साल पनि अनौठो लाग्यो होला
स्पा र ब्युटी पार्लर चाहार्न नपाउदा आफु कुरुप भएझै लाग्यो होला

तर, अहँ म र तिमी मा कुनै समानता छैन
साहुको क्रण समयमा तिर्न नसकेर जलिल हुँदा
कुनै दिन पनि मलाई लकडाउन भन्दा कम लाग्दैन
तिमी नयाँ पहिरनको कुरा गर्छौ
खान नपाएर भोकमारीले बालबच्चा छटपटाइरहँदा
मलाई हरेक पल महामारी झै लाग्छ

नयाँ ठाँउको कुरा नगर तिमी
झुकिएर कसैको विवाहमा पुगे भनेपनि स्वर्ग पुगे झै लाग्छ
सृंगार केहि चाहिदैन मलाई
आमा बाबाका मुहारमा मुस्कान देखे भनेपनि
विश्वकै सुन्दरी भए झैँ लाग्छ

तिम्रा धनका अगाडि कुनै औकातका महलहरु नहोलान् मेरा
तर, आफ्नै सानो झुपडीलाई
हावा र पानीबाट जोगाउन सक्दा
संसारकै ताकतवर झैँ लाग्छ

हरेक दिन भोकमारी र अनिकालसँग संर्घष गर्ने म
यो एक क्षणको महामारी र लकडाउन
कथाका केवल एक पात्र झै लाग्छ
अनि तिमीहरुको जीवन त
मेरा लागि केवल कल्पना मात्र झैँ लाग्छ
त्यसैले त तिमी र म मा कुनै समानता छैन ...

Comments

Popular posts from this blog

डियर जीन्दगी

तिम्रो र मेरो विचार फरक

मनका भावना