रिसाए झैं गर्छु

सधैं भरि तिम्रो कुरामा

जवाफमा केही नबोली 

सहमति जनाइरहने म

कुनै दिन तिम्रा कुरामा

चित्त नबुझेर

असहमति जनाउँदै गर्दा

म अलिअलि रिसाए झैं गर्छु

तिमी प्रतिक्रियामा

मलाई फकाए झैं गर्नु

म फेरि दंग्याउदै ठुस्स मुख पार्दा

गल्ती तिम्रो केही छैन 

भन्ने थाहा हुँदा हुँदै पनि

मुस्कुराउँदै कान समाए झैं माफी माग्नु

तिमीलाई थाहा छ म मुड्डी छु

कुनै दिन बिना कारण 

झर्केर नमिठो बोल्न सक्छु

त्यतिबेला आफै बुझेर मनलाई सम्झाउनु

मैले कुनै बेला तिमीलाई

अनेक थरी भनेर जिस्काइरहँदा

नराम्रो लागेको हुन सक्छ

मनमा लागेका कुराहरु बिना संकोच भनिहाल्नु

त्यति बेला तिमी मलाई घुर्काउनु

म पनि तिमीलाई फकाउने प्रयत्न गरौंला

कहिले तिमी रिसाए झैं गर्नु

कहिले म गरौंला

तर यो रिसाउने 

र फकाउने सिलसिला कहिले नटुंगियोस्

Comments

Popular posts from this blog

मनका भावना

Dear Mother Earth

डियर जीन्दगी