म चाहन्न कि म ती पल्ला घरे बुबा आमा जस्तो एउटै थलो परु
अब त उमेर पनि हुन लाग्यो, विवाहको बारे के सोच्या छौं ? कोही छ मन पर्ने कि के प्लान छ ? (यो सबै भन्दा अप्रिय लाग्ने शब्द मलाई कसैले नभनोस् जस्तो लाग्छ तर खैर जिन्दगी सबै कुरा आफुले सोचे र चाहे जस्तो कहाँ हुन्छ र) संगैका साथीहरुका छोरा छोरी समेत स्कुल जान थालिसके, हुँदा हुँदा त्यो पल्लो गाँउको काइलोको कान्छी छोरी छे नि त भन्दा १० वर्ष कान्छी त्यसको समेत विवाह भइसक्यो । आफन्त नातेदारहरु सोध्छन् छोरीको विवाह कहिले गर्ने भनेर, छोरी मान्छेको उमेर बढेपछि राम्रो खानदानी केटा पाउन ग्राहो हुन्छ रे (मानौ यसरी भन्छन् कि कहिले त लाग्छ मैले विवाह नगरेर ठुलो पाप गरिरहेको छु) ह्या नगर्नु मलाई यो विवाह सिवाहको कुरा अहिले, पढ्दै छु त अहिले पढाई सक्नु परेन पहिला, अलि राम्रो जागिर पनि त खानु छ । यति भन्दै म प्रति तेसिएका प्रश्नहरु पन्छ्याउने प्रयास त गरे
तर मलाई बेहुली बन्ने रहर कहिले जागेन, न कहिले विवाहको बारेमा सोचे, कसैको विवाहमा जाँदा विवाहका भिडियो हेर्दा बेहुली अन्माउँदा मनमा चिसो छ । घरमा घुरकाएर दंगाएर खाएकी छोरी अर्काको घर गएर कसरी सबैलाई रिजाएर खाउँला भन्ने पिर लाग्छ, सासुले बुहारीप्रति गरेको व्यवहार देखेर दिक्क लाग्छ अनि सबै भन्दा बढि पिर त आफुले जन्माएको सन्तानले छिछि र दुरदुर गर्दै अलग्एर टाँढा बस्छन् भन्ने डर लाग्छ त्यसैले त विवाह गर्नु पर्छ अनि अलग एउटा परिवार बनाउनु पर्छ भन्दा कता कता पिरोल्छ
म चाहन्न बुढेसकालमा म हात नदेख्दा, हात गोडा कम्जोर भएर म सिधा उभ्भिन नसक्दा, चाहे जस्तो रहर अनुसार खान नसक्दा, कान नसुनेर के भने भन्नी राम्रोसंग ठम्याउन नसक्दा मलाई आफ्नै छोराले झर्को र फर्को गर्दा, म बिरामी भएर मुडो जस्तो लडिरहँदा, शौचालयसम्म पुग्न संघर्ष गरिरहँदा, चिसो पानीले सन्चो नगरेर तातो पानी पिउन खोज्दा बुहारीको लागि बोज बन्न म चाहन्न, म चाहन्न कि छोरा बुहारीको सम्बन्धमा दरार ल्याउन म जिम्मेवार बनु । म चाहन्न कि मेरा छोरीहरु घरका जिम्मेवारीले थिचेर मेरो दयनीय अवस्थामा मन हुँदा हुँदै पनि मलाई भेट्न आउन नसकुन र फोनमा रुदै गुनासो गरुन् । म चाहन्न कि कपाल कोर्न नसकेर यत्तिकै बस्दा मेरा नाती नातीनाले मलाई बोक्सी बुढी भनुन् । म चाहन्न मेरो यस्तो दयनीय अवस्थामा मलाई सानत्वोेना दिन मेरा गाँउलेहरुले आफ्नो काम छोडेर मेरा घरको चक्कर लगाइरहनु परोस् ।
म निल्न सक्दिन ती तीता गोलिहरु, न त सुन्न सक्छु ती तीता बचनहरु । माया गर्ने हरेक पल साथ दिने बुढा परे त केहि हदसम्म ठिकै होला बुढाबुढीसंगै एक कुनामा बसेर जिन्दगीका दुखेसो मेटाइन्थ्यो पनि होला । तर उल्टै हेप्नी कुट्नी पर्यो भने । मलाई एकलै छोडेर बिदा भयो भने । त्यसैले डर लाग्छ र म चाहन्न कि म ती पल्ला घरे बुबा आमा जस्तो एउटै थलो परु र छोरा हेर्न आउँछ भन्ने आशौ आशामा जिन्दगीका अन्तिम सास फेरु ।।।
Comments
Post a Comment