मेरी आमा
![]() |
| Picture:-Mamu |
झिस्मिसेमा उठ्छिन उनी,
कुच्चो लगाउँदै लिप पोत गर्दै
शुरु हुन्छ उनको हरेक विहानी,
उनले सबै काम सकाएर
पुजाको घण्टी बजाउँदा
त्यसको आवाजको झर्को मान्दै
७ बजे सम्म सुत्ने म,
अह, केही भन्दिनन् उनी
खुरु खुरु आफ्नै काम गरि रहन्छिन,
९ बजे उठ्ने हामीलाई
काममा जान हतार भयो भन्दै,
हस्याङफस्याङ गर्दै खाना तयार गरि दिन्छिन् उनी,
त्यसमा पनि जस नदिएर यो मिठो भएन,
त्यो मिठो भएन भन्दा पनि
केहि नबोली सुनी बस्छिन् उनी,
मेरा लुगा र मजा कहिल्यै भेटाउदिन म,
आमा मेरो सामन खोई भन्दै चिच्याउछु म,
खै कहाँ कसरी भेटछिन् उनी
एकै पटकमा खोजेर ल्याइदिन्छिन् उनी,
९ बजे पाकेको भात १ बजेर चिसो भइसक्दा पनि
खानी फुर्सद छैन उनीलाई,
आफुलाई भोक लागेको नलागेको थाहा नपाउने उनी,
ती बोल्न नसक्ने गाई बस्तु भोकाएका थाहा हुन्छन् उनीलाई,
खै के भनु मेरी आमालाई
आफु १ बजे भात खाँदा मेरा छोरा छोरी भोकाइसके भनेर
२ बज्न नपाउदै खाजा तयार गर्दिसक्ने उनी
खै किन उनलाई चाहि कहिले भोक लागेन
म अलिकति केहि काम गरेर फर्किदा
थकाई लाग्यो होला भन्ने उनी
विहान देखि उठेर राती ९ बजेसम्म
एकछिन नबसी काम गरिरहने उनीलाई
किन कहिले थकाई लागेन
अचम्म लाग्छ कहिले काहि
बिरामी हुँदा पनि सकि नसकि,
भ्याई नभ्याई काम गर्ने कस्ती उनी?
अनि मलाई चाहि थोरै चोट मात्र लाग्दा पनि
किन आतिन्छिन् उनी?
मलाई दुखेको थाहा हुने उनी
आफुलाई दुखेको कसरी बिर्सिइन?
सबैको ज्यान त एउटै हो नि
सकि नसकि किन मोरी हत्य गर्छिन उनी??
हो मेरी आमा यस्तै छिन
त्यसैले त संसारमा भगवान छन् भन्ने विश्वास छ मलाई
किनकी म भगवान मेरी आमामा देख्छु
मेरो पिडाको औषधी हुन उनी
हरेक समस्याको समाधान हुन उनी
मलाई सपना देख्न सिकाउने देवी हुन उनी

love it
ReplyDelete